शीर्षक : पायजामा (लघुकथा)
●दिनेश यादव
गुल्टन काकाले छिमेकी भारतीय बजार अन्धरामंठमा सिलाएको सुतिको पायजामा लगाएर गाउँस्थित मेरो निवासमा आउनु भएको रहेछ । भलाकुसारीकै क्रममा काकाले पायजामा देखाउँदै भन्नुभयो,’ कपडा कति महंगो भएछ? अझ सिलाई त झनै महंगो छ …!’ उहाँ मँहगीको पीडा सुनाउन व्यस्त हुनुहुन्थ्यो ।
मैले सोधें, ‘ तपाईको यो पायजामा कति दिन टिक्ला ?’
उहाँले जवाफ फर्काउनुभयो, ‘ अँ ! तीन वर्ष जति… !’ म आश्चर्य चकित हुँदै जिज्ञासा राखें,’ पातलो कटनको पायजामा पनि यतिका दिन टिक्छ र काका ?’
गुल्टन काका बेस्सरी हाँस्नु हुँदै भन्नुभयो, ‘तिमीहरू सानैदेखि शहरीया भयौं, हामी गरीबले कपडाको जतन र प्रयोग कसरी गरिरहेका हुन्छौं, त्यसबारे बावुहरूलाई कसरी थाहा हुन्छ त ?’ मेरो नजिकै राखिएको ग्लासको पानी एक घुँट पिएँ अनि सोधेँ, ‘काका ! यतिका कसरी टिकाउनु हुन्छ ? पत्यारिलो कुरा त गर्नु न ।’ गुल्टनका खिस्स हाँस्दै बेलिबिस्तार लगाउन थाल्नु भयो,’ हेर ! एक वर्ष म लगाउँछु , त्यसपछि तिम्रो थलहीवाली काकीले यसलाई काटेर ललबा (छोरा) लाई लगाउने गरी बनाइदिन्छिन् । उसले एक वर्ष प्रयोग गरेपछि तिम्रो काकीले त्यसलाई तकिया खोल बनाउँछिन् । पछि त्यसको प्रयोग घरआँगनी लिप-पोत गर्न प्रयोग गर्छिन ।’ ‘त्यसपछि फाँलिदिनुहुन्छ होला नि ?’ मैले सोधें । काका जुरूक्क उठेर फेरी आफू बसेको बाँसको मोडामा बस्नु हुँदै भन्नुभयो, ‘ होइन नी, कहाँ फाल्नु ! यसको प्रयोग हामी अझै पनि गर्छौ बावु ! ‘अब पनि प्रयोग ?’ म फेरी आश्चर्य चकित थिएँ । गुल्टन काका भन्दै थिए, ‘ ६ महिना जति जुत्ता सफा गर्न र त्यति नै समय मोटर साइकलको साइलेन्सर चम्काउन त्यसको प्रयोग गर्छौं । पछि कान्छो गुललबाले त्यसलाई बल बनाएर फूटबल खेल्छन् …।’ म मनमनै अब त त्यो पायजामा कपडाको प्रयोग सकियो होला भनेर सोच्दै थिएँ । बीचैमा काकाले थप्नुभयो,’ त्यसपछि चाहीं चुलो सल्काउन र खाना पकाउँदा भाडावर्तनमा लागेको कालो मस्काउन प्रयोग गर्छौ …. ।’
गुल्टन काकाको ‘मल्टि-रिसाइक्लिङ’ सोच साँच्चिकै अद्भुत् रहेछ । वायु प्रदूषणजन्य समस्याहरू -ग्लोबल वार्मिङ, जलवायु परिवर्तन, अतिवृष्टि, अनावृष्टि लगायतसंग जुझ्न ‘रिसाइक्लिङ’ प्रक्रिया निर्विकल्प छ ।
सप्तरी राजगढ -०६, फकिरा
२७-०२-२०८०