जीवन सूत्र (#नेपाली_लघुकथा)
गाउँ (#फकिरा) बाट राजधानी आएको साता जति भएछ । एता आए पनि गाउँले काकाको सम्झना झलझल्ती आइ रा’छ । गाउँमा छँदा उनीसंग पटक-पटक भएको संवादहरू जीवन, परिवार, समाज र देशको प्रगतिका लागि सूत्र झै लाग्न थालेको छ।
#काकाले एकदिन मसंगको संवादमा भन्दैथ्ये –
‘बाबु ! तिमीहरू गाउँ बाहिर गएर राम्रो गर्यौं । यहाँ त अब बस्न सक्ने अवस्था नै रहेन । केही कथित मुहःपुरूख(अगुवाहरू) ले गाउँलाई पुरै भाँडी सकेका छन् । घर-घरमा झगडा लगाएका छन्..! ‘
काका ननस्टप बोली रहेका थिए । बीचमा रोक्दै मैले जिज्ञासा राखें, ‘ काका ! को मुहःपुरूख??, को-को छन् त्यस्ता ।’
काका : ‘ (अलिक कड्किदै) हैट ! गाउँको बच्चा-बच्चालाई थाहा छ । सोध्नु सबैले भनिदिनेछन् । म बुढालाई नाम ओक्लिन नलगाऊ । भित्ताको पनि कान हुन्छ, कसैले तिनीहरूलाई सुनाई दिए #मैदान (खुला दिशापिशाब गर्ने ठाउँ), #पैनछुवा (आफ्नो दिशा पखाल्ने कार्य), #चौरचरण(बस्तुभाउलाई चराउने ठाउँ) आदि सबै बन्द गर्ने उर्दि जारी गर्छन् । फेरी म गरीब जो परें..!’
यी कुराहरू भनिरहँदा काकाको मनमा त्रास रहेको सजिलै जो कोहीले पनि लख काट्न सक्थे । म पनि त्यही निस्कर्षमा पुगें ।
म: (काकाको काँधमा हात राखेर अनुहार हेर्दै) ‘काका यो युगमा पनि डराउने हो र ? ‘
काका खिसिक्क #हाँसे । एताउता हेर्दै गम्छाको पगडी टाउकोमा बेस्सरी बाँधेपछि भने, ‘ बाबु! म डराएको हैन, अनावश्यक झमेलामा पर्न मात्र नचाहेको हो…। ममाथि पंचायती बसाउलान भन्ने डर चाहीं छ, है। खैनी-बिडी, सुपारी जो खर्च गराउँछन् । पंचायतीको नाममा केही बेरोजगारहरूको दिनचर्या यसरी नै बित्ने गरेको छ ।’
काकाको गाउँमा दैनिक हुने अनावश्यक #पंचायतीप्रतिको आक्रोस सुनेपछि शुरूमा उनले भनेको कुरामा ध्यानाकर्षण गराउने प्रयास गरें । सोधें, ‘ काका ! क-कसको घरमा झगडा छ ?’
काका : ‘भनि साध्य छैन , बाबु । क-कसको नाम भन्ने …? ‘ लामो साँस लिँदै काकाले थपे –
‘ बाबु ! जुन घरपरिवारमा दाजुभाइहरूबीच प्रेम र ठूलाबडाको सम्मान र आदरभाव हुन्छ, त्यहाँ ईश्वरको बास हुन्छ । प्रेम विभाजित भएपछि रामायण लेखियो, सम्पत्ति बाँडिएपछि महाभारत लेखियो, मानिसको पतन तब शुरू हुन्छ,जब उसले आफ्नैलाई गिराउने सल्लाह अरूबाट लिन शुरू गर्छ…!’ काकाले समय सोधें, बिहानको ११ बजेको रहेछ । जलखोई (नास्ता) गरेर जान अनुरोध गर्दा स्नानध्यानपछि मात्र गर्ने भनेर काका #पुरनी पोखरीतिर लागे ।म भने काकाले भनेका अन्तिम पंक्तिमा घोत्लिदैं सोफामा बसिरहे ।